ट्राफिक व्यवस्थापन फितलो हुदाँ दुर्घटनाको खतरा

Posted on: 03 Mar, 2017

पर्वत । जिल्लामा एकपछि अर्को महोत्सव चल्ने क्रम जारी छ । पर्वत महोत्सव सकिएको महिनादिन नपुग्दै पुन क्लबको आयोजनामा शुरु भएको मगर महोत्सवको रौनक यतिबेला छाएको छ । यो महोत्सव सम्पन्न लगत्तै रेडियो दिदिबहिनीको आयोजनामा नवौ पश्चिमाञ्चल महिला महोत्सव शुरु हुने  प्रक्रियामा छ । महोत्सव होस या पछिल्लो समयमा तीन अग्ला पुलको जिल्लाका रुपमा चिनिएको पर्वतमा पर्यटकहरु भित्रने क्रम जारी छ । तर जिल्लाको सुरक्षा व्यवस्थापन वा ट्राफिक सजग नहुदाँ दुर्घटनाका घटनाहरु बढिरहेका छन् । रोकिराखेका ४ वटा सवारी साधनमाथि  आगजानी हुनुले पनि जिल्लाको सुरक्षा व्यवस्थापन कति चुस्त छ भन्ने कुरा समेत आंकलन गर्न सकिने विषय हो ।

ट्राफिक चेकजाँचको अभाव

पछिल्लो समयमा ट्राफिक अनुगमन र आवश्यक चेकजाँच प्राप्त मात्रमा नहुदाँ जिल्लामा दुर्घटनाहरु बढ्दो क्रममा छन् ।  कुश्मा नगरपालिकाले नगर क्षेत्रको सुरक्षाको लागि आवश्यक चाँजोपाँजो मिलाउन नसक्नु, चोकचोकमा नवनिर्मित घरहरुको लागि आवश्यक सामाग्रीहरु सडकमा बेवारिसे अबस्थामा राख्नु, लाइसेन्स नभएका चालकहरुको बजारमा विगविगी हुदाँ समेत पनि ट्राफिक प्रहरी सचेत र सजग भई लाग्न नसक्नुले पनि जिल्लामा ट्राफिक दुर्घटना भएको देखिएको छ ।

लाइसेन्स नभएका मोटरसाइकल चालक युवाहरुको बजारमा विगविगी हुदाँ समेत ट्राफिक प्रहरीले अनुगमन तथा ट्राफिक चेकपोष्ट खडा गरी भित्री गल्लीमा चेकजाँच गर्न नसकेका कारण बजारमा साँझको बेलामा बढी दुर्घटनाको खतरा हुन लागेको स्थानीय होटल व्यापारीले गुनासो गर्न थालेका छन् ।

ट्राफिक प्रहरीले सवारी कारवाहीबाट लाखौ रकम उठाएको देखाएता पनि भित्रि गल्लीहरुमो अव्यवस्थीत रुपमा सवारी साधन चल्न थालेपछि व्यापारीहरु गुनासो गर्न थालेका हुन् । पैदल यात्रुलाई त सडकमा हिड्नको लागि अप्ठेरो छ त्यतिमात्र नभई व्यापारीहरुलाई कतिबेला आफ्नो घरनेर दुर्घटना हुने हो भन्ने डर पनि छ ।

विना लाइसेन्सका सवारी 

जिल्ला विकास समितिको कार्यालय पर्वतले ४७ वटा गाउँ विकास समितिका सचिवहरुलाई सवारी साधान उपलब्ध गराएता पनि अझै कयौ सचिवहरुको लाइसेन्स समेत नभएको भेटिएको छ तर अनुमन र ट्राफिक चेकजाँच गर्ने निकायले भने कुनै रोकथोक नगर्ने र सरकारी प्लेट देखेपछि छोड्ने गरेका कारण पनि दुर्घटनाको प्रमुख कारण बन्ने गरेको छ ।

विचविचमा राखिएका ब्रेकरसमेत हटाइएपछि र भित्रि बाटोहरुमा ट्राफिक चेकजाँच चुस्त नभएपछि प्लेटनै नभएका सवारी साधन, लाइसेन्स नभएका सवारीहरुले भित्रि सडकहरुलाई आफ्नो रजाइ गर्ने मौका रुपमा लिएका छन् ।

प्लेट नभएका सवारी साधन प्रयोगमा निधेष भएता पनि यहाँका सवारी धनीले भने १५ दिन चलाउन मिल्ने भन्दै भित्रि गल्लीमा सवारी चलाइरहेका छन् । जून नियम विपरीत छ । त्यस्ता सवारी दुर्घटनामा परे कसलाई समात्ने यसको प्रश्न स्वयम ट्राफिकलाई समेत छैन ।

समन्वयको अभाव 

जिल्ला ट्राफिक कार्यालय, कुश्मा नगरपालिका र उद्योग बाणिज्य संघविच समन्वय नहुदाँ बजारको भित्रि सडक अस्तव्यस्त बनेको छ । भित्रि गल्लीमा ठूला मालबहाक प्रवेश गर्दा त्यसले थप समस्या पैदा गरेको छ । गल्लीगल्लीमा घरनिर्माणका समाग्री अस्थव्यस्थ रुपमा छन् तर त्यसलाई हटाउनको लागि नगरपालिकाले पहल गर्न नसक्नुले पनि थप समस्या पैदा गरेको छ । मालबाहक सवारी साधन भित्री गल्लीमा प्रवेशमा रोक लगाउँदा व्यापारीहरु रुष्ट हुनुले पनि थप समस्या पैदा गरेको छ ।

ट्राफिक व्यवस्थापन किन चुस्त भएन भन्ने हाम्रो प्रश्नमा जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले भने जिल्लामा ट्राफिक चेकजाँचनै  नभएको भए झण्डै २९ लाख राजश्व कसरी उठ्यो भनेर प्रतिप्रश्न गरे । उनले जिल्लामा ट्राफिक चेकजाँच भएको र सवारी साधनहरुलाई कारवाहीमा लिएको समेत बताए । भित्रि गल्लीमा भने आवश्यक जनशक्तिको कमीले सोचे अनुसारको चेकजाँच हुन नसकेको उनले स्वीकार गरे ।

बजारको भित्रि गल्लीमा घरधनिले घर निर्माणको लागि राखेको सामाग्री हटाउनको लागि आवश्यक पहल गर्नको लागि नगरपालिकासँग सहयोग मागेता पनि नगरपालिकाले कुनै सहयोग नगरेको कारण समस्या पैदा भएको उनले बताए । नगरपालिकामा म पटकपटक पत्र लिएर गए । 

सडकमा राखिएका बस्तु उठाउनको लागि डोजर समेत ल्याउने तयारी गरे तर नगरपालिकाले सहयोग गर्न त्यसैले बस्तुहरु हटाउन सकिएन उनले भने । यसमा ट्राफिक कार्यालयको मात्रै जिम्मेवारी नभइ नगरपालिकाको समेत जिम्मेवारी रहेको बताए ।

भित्रि गल्लीको सडक सुरक्षाको लागि विहान र बेलुका अफिस समय अबधिमा ठूला मालबहाक सवारी प्रवेशमा रोक लगाउँदा स्थानीय व्यापारीहरु आफूमाथि आक्रोशित भएको समेत उनको गुनासो थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!