लालीगुराँस गोल्ड कप काठमाडौँलाई

Posted on: 29 Apr, 2016

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा आज सम्पन्न दोश्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको दोर्जे गियर प्रालिले चुमेको छ ।

बिराटनगरको यातायात मजदुर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दोर्जेले यो संस्करणको गोल्ड कप उचाल्नुकासाथै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । हारसँगै उपविजेता बनेको बिराटनगरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उपाधिकालागि भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक र आक्रामक बनेको थियो ।

खेलको ६० औँ मिनेटमा दोर्जेका गणेश खड्का र मजदुर क्लबका सन्जय राईले एक साथ रातो कार्ड पाएर बाहिरिएपछि खेलको रुप बद्लियो । अन्ततः दोर्जेकालागि खेलको ६३ औँ मिनेटमा जर्सीं नं. ८ का राजु पौडेलले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा दोर्जे गियर प्रालि काठमाडौँका मुस्सा बल्लभ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।

दोर्जेकै राज नगरकोटीले बेस्ट किपर र विदेशी खेलाडी मार्टिन बेस्ट मिडफिल्डर बनेँ । प्रतियोगिता अवधिभरमा सर्वाधिक गोल कर्ताको रुपमा सिंहदेवी युवा क्लब धनकुटाका कर्ण लिम्बु र बेस्ट डिफेन्डरको रुपमा दोर्जे गियर प्रालिका सुसन लामा पुरस्कृत भए । प्रतियोगितामा इमान्दार खेलाडीको रुपमा यातायात मजदुर युवा क्लब विराटनगरका राजन लिम्बु पुरस्कृत भएका छन् ।

गुराँस पर्यटनको प्रवर्धनकालागि ०५६ सालबाट राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिको संयोजनमा सुरु भएको प्रतियोगितालाई स्थानीय पाथीभरा युवा सामुदायिक क्लबले यो वर्षबाट निरन्तरता दिएको हो । पुर्वी पहाडी जिल्ला तेह्रथुमकै सर्वाधिक राशीको प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । विजयी टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार विरतण गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!