नवलपुरको गैँडाकोटका एक वडाध्यक्षले बर्षभरीको तलब सामाजिक कार्यमा दिए

Posted on: 27 Jul, 2019

साउन ११, नवलपरासी | नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफूले एक वर्षमा तलबबापत प्राप्त गरेको रु एक लाख २० हजार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको हो । 

वडाध्यक्ष ज्ञवालीले गैँडाकोट–१७ स्थित अमर ज्योति माविलाई रु ४५ हजार बराबरको एक थान कम्प्युटर उपलब्ध गराउनुभएको छ । उहाँले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि रु ४० हजार सहयोग गर्नुभएको छ । सो बर्थिङ सेन्टरको आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो । 

जनताको करबाट सङ्कलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताउनुभयो । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उहाँले बताउनुभयो । आगामी दिनमा समेत आफूले प्राप्त गर्ने आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने ज्ञवालीको भनाइ छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!