मोबाइल बन्द गर्न निर्देशन

Posted on: 06 Aug, 2019

साउन २१, काठमाडौँ  । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ ।

उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट निस्केपछि मोबाइल बन्द गर्न उहाँले आज निर्देशन दिनुभएको हो ।

देशैभरका अदालतहरुमा कजलिष्ट निस्केपछि न्यायाधीश तथा कर्मचारीहरुका मोबाइलका घण्टी बज्ने गरेको आरोप लागिरहेका बेला पाटन उच्च अदालतका मुख्य न्यायाधीश सुवेदीले कजलिष्ट निस्केपछि आवश्यक कर्मचारीबाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन दिइएको हो ।

मुख्य न्यायाधीश सुवेदीले न्यायाधीशहरुलाई पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भए पनि पूरा समय अदालतमा बस्न र पुराना मुद्दालाई घटाउन निर्देशन गर्नुभयो । 

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायापालिकाभित्र विकृति विसङ्गति हटाउन आवश्यक निर्णय गर्न सबै तहका अदालतलाई परिपत्र गरिसक्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!