पूर्वसांसद डोलबहादुर कार्की पक्राउ

Posted on: 05 Sep, 2019

भदौ १९, काठमाडौँ | तत्कालीन एमाले सांसद डोलबहादुर कार्की(डिबी) पक्राउ परेका छन् | केन्द्रीय अनुसन्धान ब्युरोले कार्कीलाई बिहीबार बिहान कलंकीबाट पक्राउ गरेको हो |‘इन्स्पेक्टर बनाइदिने’ भन्दै घूस लिएको अभियोगमा उनीविरूद्ध सर्वोच्च अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

‘कार्कीलाई कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले भने। कार्की २०६७ भदौमा चार लाख घूस रकमसहित पक्राउ परी धरौटीमा छुटेका थिए।

सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी फरार भएका थिए। पहिलो संविधानसभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट उनी समानुपातिक सभासद चुनिएका थिए। कार्की नेकपा नेता बामदेव गौतम निकट मानिन्थे।

कार्की नेकपाको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यालय सचिव हुन्। गौतमले दुई साताअघि मात्रै महासंघको अध्यक्ष छाडेका हुन्। नेकपा सचिवालयले गौतमलाई पार्टीका उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत परित गरेपछि उनले महासंघकाे अध्यक्षकाे जिम्मेवारी छाडेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!