नेपालमै पहिलो पटक विद्युतीय बससेवा आजदेखि सञ्चालनमा

Posted on: 09 Sep, 2019

सञ्चिता घिमिरे, भदौ २३, काठमाडौँ । नेपालमै पहिलो पटक विद्युतीय बससेवा आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो । 

रु एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ । 

उपप्रधानमन्त्री पोखरेलले बसमा बसेर प्रदर्शर्नीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहिदेगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रासमेत गर्नुभएको थियो । यात्रापछि उहाँले बस आरामदायी रहेका र नेपालका लागि उपयुक्त रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरणीय र आर्थिक दुबै हिसाबले बस उपयुक्त छन् ।” उहाँले राम्रो कामको शुरुवात गर्नुभन्दा पनि शुरु गरिएको कामलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताउनुभयो । 

सुन्दर यातायातले नामजस्तै सुन्दर काम गरेको उहाँको भनाइ छ । राम्रो काम गर्न खोज्दा विभिन्न पक्षबाट अवरोध आउने गरे पनि आफूले गर्न लागेको कामबाटपछि हट्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि चुनौती आउन सक्छन् तर तपाइँ हिम्मत नहारी अघि बढ्नुपर्छ ।”

प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताउनुभयो । विद्युतीय बस सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहनुभएको र उहाँकै सुझावका आधारमा संस्थाको नाम ‘सुन्दर’ रहन गएको उल्लेख गर्नुभयो ।

बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ । विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रुपमा रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले नीति चाँडो बनाउनुप¥यो भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजनामा रहेको बताउनुभयो । नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिक रुपमा नै विद्युत्को खपत बढाउँदै जाने लक्ष्य लिएको छ । अरु उद्यमीले पनि विद्युतीय सवारी साधन भित्र्याए सरकारको उक्त योजनामा सहयोग पु¥याउनुपर्नेमा उहाँको जोड छ । 

उहाँले भन्नुभयो,“विद्युत्को खपत हामीले यातायात, खाना पकाउने इन्धनलगायतका रुपमा प्रयोग बढाउँदै जान सक्छौँ ।” नेपालमा वायरलेस इण्टरनेटका जन्मदाता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताउनुभयो । 

सेवा विस्तार गरिँदै

विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले बताएको छ । कम्पनीले अहिले दुई बसबाट शुरुवात गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यही वर्षभित्रमा ५० बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ । एक्कासि शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं– १ र ५ मा पनि बस विस्तार गर्ने योजना बनाएको छ । 

बस किन्ने तयारी गर्र्दै साझा 

तीनै तहको सहकार्यमा साझा याताायतले विद्युतीय बस खरीदको तयारी गरेको छ । तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले रु तीन अर्बका र प्रदेश नं– ३ ले रु ३० करोडका साझाको शेयर खरीद गरेका थिए । काठमाडौँ महानगरपालिकाले रु १० करोड बराबरको साझाको शेयर खरीद गरेका थिए । सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताका किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ । 

आगामी वैशाखसम्ममा थोरै सङ्ख्यामा भए पनि बस भित्र्याउने तयारी रहेको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा एकदशक पहिला सञ्चालनमा रहेको ‘ट्रलिबस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ । चीन सरकारको सहयोगमा काठमाडौँमा ट्रलीबस सञ्चालन भएको थियो ।  नेपालमा विसं २०३२ पुस १४ गतेदेखि ट्रलीबस सञ्चालनमा आएको थियो । 

तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त बस विसं २०६६ देखि पूर्णरूपमा बन्द भयो । त्यतिबेला बस काठमाडौँबाट मध्यपुरठिमी हुँदै सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको थियो । विसं २०५२ मा दाताको सहयोगमा १० बस थपिएका भए पनि एक दशक पहिले सेवा बन्द हुँदा नौ वटा मात्र चालू अवस्थामा थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!