अर्को साल बिहे गर्ने सोच्दै हुनुहुन्छ ? मंसिरभित्रै गर्नुस नत्र एक वर्ष कुर्नुपर्छ

Posted on: 15 Jan, 2020

माघ १,काठमाडौं । उमेर भयो अब अर्को साल बिहे गर्नुपर्छ भनेर सोची रहनु भएको छ । त्यसो हो भने आगामी २०७७ सालमा तपाइले मंसिर महिनाभित्र नै बिहे गरिसक्नुपर्नेछ । आगामी वर्षको नयाँ पात्रो अनुसार मंसिरसम्म मात्रै बिबाहको लगन परेका कारण लगन हेरर बिबाह गर्नेहरुका लागि मंसिरसम्म मात्रै समय रहेको छ ।

असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन रहेको छैन । नेपाली समाजमा मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास रहेको छ । 

आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो । आगामी वर्षमा जम्मा १८ दिन मात्र साइत रहेकोमा वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४/४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन रहेको छ । वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको छ । 

दशैँ र तिहार पनि २५ दिनपछि 

मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि पछाडी सरेको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । आउँदो वर्ष कात्तिक १ गते घटस्थापना, फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको छ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार र लक्ष्मीपूजा, ३० गते गोबर्द्धन तथा म्हपूजा र मंसिर १ गते भाइटीका परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!