कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि, संक्रमित संख्या २८१ पुग्यो

Posted on: 16 May, 2020

जेठ ३, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ बर्षीय महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । 

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत घोषणा गरेका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

यससंगै मन्त्रालयले कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु उल्लेख गरेको छ । त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको शंख्या २८१ पुगेको छ । मन्त्रालयले केहिबेर अघि दिएको जानकारी अनुसार पछिल्ला संक्रमितहरुमा धनुषाका २० र ६५ बर्षीय पुरुषहरु छन् । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । 

मन्त्रालयका अनुसार नेपालमा २६ हजार ६९४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको छ । संक्रमित मध्ये ३६ जना डिस्चार्ज भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!