स्थानीय तहमा विद्युत विस्तार हुँदै

Posted on: 28 Oct, 2020

कात्तिक १२, डोटी | जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ । जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ । यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन् । दशैँको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन् । पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिनुभयो । विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताउनुभयो । 

नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय लाईन प्राधिकरण र आदर्श गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुलीले त्यहाँका नागरिकले उज्यालो पाएका छन् ।” गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा विद्युत विस्तारका लागि बजेट विनियोजन गरिएपछि अहिले विद्युत विस्तारको काम अघि बढेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाइएर सोही अनुसार पत्राचार गरेकाले काम अघि बढाईरहेको डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!