असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने

Posted on: 13 Aug, 2021

साउन २९, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् ।

हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका हुन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताए ।

अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उनले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताए ।

यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उनको दाबी थियो ।

कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताए ।

लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराए ।

उनले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका थिए ।

सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहार अघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!