चुनावका लागि प्रदेश ६ मा प्रहरी अपुग

Posted on: 31 Oct, 2017

दलसिंह गिरी | कात्तिक १४, सुर्खेत । पहिलो चरण निर्वाचन हुने ६ नम्बर प्रदेशका सात जिल्लाका लागि ५ सय प्रहरी अपुग रहेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय ९९ मतदान केन्द्रका लागि झन्डै ४ हजार प्रहरीमात्र उपलब्ध छन् । 

प्रदेश प्रहरी प्रमुख एवम् अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले भौगोलिक विकटता, दलहरूको प्रभाव र स्थानीय निर्वाचनको अवस्थालाई विश्लेषण गर्दा मतदान केन्द्रमा ८ देखि १५ जनासम्म प्रहरी खटाउनुपर्ने बताए । हाल कायम जनशक्तिले निर्वाचन सुरक्षा दिन नसकिने उनको भनाइ छ । ६ नम्बर प्रदेशमा कर्णालीका कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, पश्चिम रुकुम र जाजरकोटमा मंसिर १० गते निर्वाचन हुँदैछ ।

प्रदेश प्रहरी कार्यालयमा ५ हजार ९० प्रहरी दरबन्दी भए पनि एक हजार पाँच सय रिक्त छन् । दोस्रो चरणमा निर्वाचन हुने सुर्खेत, दैलेख र सल्यानबाट प्रहरी पठाउँदासमेत अपुग हुने कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय मातहत सशस्त्र प्रहरी गण सुर्खेत, प्रहरी तालिम केन्द्र नेपालगन्ज छ ।

पहिलो चरणमा निर्वाचन हुन लागेका सात जिल्लामा २ सय ९१ केन्द्रलाई अति संवेदनशीलमा राखिएको छ । ‘मतपेटिका र निर्वाचन सामग्रीको सुरक्षाका साथै मतदानस्थलदेखि केन्द्रसम्म ल्याउँदा बाटोमा धेरै खतरा हुन सक्छ,’ एआईजी चन्दले भने, ‘यदि कुनै व्यवधान सिर्जना भए भौगोलिक विकटताका कारण तत्काल थप सुरक्षाकर्मी खटाउन समस्या छ ।’

सञ्चार नेटवर्कको पहुँच नहुँदा पनि सुरक्षा चुनौती थपिएको उनले बताए । प्रहरीले विगतका निर्वाचनमा जस्तो सुरक्षा चुनौती नभएको बताएको छ । यसपटक अधिकांश दल निर्वाचनमा सहभागी हुनु, स्थानीय तहमा जनप्रतिनिधि हुनु जस्ता कारणले निर्वाचन शान्तिपूर्ण हुन सक्ने प्रहरीको प्रक्षेपण छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!