बसपार्क नबन्दा चोक नै अस्तव्यस्त

Posted on: 03 Nov, 2018

कार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क समयमै निर्माण नहुँदा मुख्य चौक मंगलगढी नै अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकमा लामो समयदेखी अस्थायी बसपार्क सञ्चालनहुँदा सवारी चापले चौक नै अस्तव्यस्त हुने गरेको हो ।

सिटी बसपार्क निर्माण थालेको वर्षौ वित्दा पनि पूर्णता पाएको छैन् । सुर्खेतबाट बाहिरीने र भित्रने सवारीहरु साँघुरो बसपार्कका कारण सडक किनारामै पार्किङ्ग गर्नु पर्ने बाध्यता छ । आधा दर्जन बढी यातायात व्यवसायीहरुले साँघुरो बसपार्कबाट यात्रुहरुलाई सेवा दिने गरेका छन् । वीरेन्द्रनगरको मुख्य चौकमा अधिक सवारी चाप हुने, पैदलयात्रु धेरै हिँड्ने र बजार प्रवेश गर्ने मुख्य ठाउँ अस्तव्यस्तहुँदा समेत सम्वन्धित निकायले चासो नदिँदा यात्रुहरुलाई निकै सकस भएको छ ।


प्रदेश राजधानी प्रवेश चौक नै अस्तव्यस्त बन्दा त्यसको व्यवस्थापन गर्न वीरेन्द्रनगर नगरपालिका जिम्मेवार नबेको स्थानीयको आरोप छ । राजधानी प्रवेशको मुख्य चौक नै अस्तव्यस्त हुनुले सकरात्मक सन्देश बाहिर प्रवाह नभएको काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले बताउँछन् । ‘साँघुरो बसपार्कबाट हामीलाई सेवा दिन सकस नै छ’ सचिव सापकोटाले भने, ‘ग्राभेल गरिएको बसपार्कमा ढुंगा उछिट्टीदा यात्रु नै घाइते हुनु परेको छ ।’ समयमै बसपार्क निर्माण नभएकै कारण मंगलगढीस्थित अस्थायी बसपार्कमा सवारी चाप बढ्दा दुर्घटनाको त्रास बढेको छ । यात्रामा सवार गर्नेेदेखी पैदलयात्रीलाई समेत चौकमा समस्या हुँदै आएको छ । लामो समयसम्म पनि बसपार्क निर्माणमा सरोकारवाला निकाय मौन हुनु दुखद् भएको यातायात व्यवसायीहरु गुनासो छ । आधा दर्जन बढी व्यवसायीहरुले साघुरो ठाउँबाट गाडीहरु छुटाउँदा दुर्घटनाको जोखिमा पनि उत्तिकै रहेको सापकोटाको भनाई छ । ट्राफिक प्रहरीले पनि बसपार्क नबन्दा यातायात व्यवस्थापनमा सकस भएको बताएको छ । दैनिक वीरेन्द्रनगर भित्रने र बाहिरीने सवारीका कारण मुख्य चौकको किनारामा सवारी पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले निर्माणाधिन सिटी बसपार्कको काम ढिला हुनुमा प्राविधिक कठिनाईँ भएको बताइन् । समयमै सिटी बसपार्कको काम सक्न ताकेदा गर्दा समेत दशैँ अगावै काम सम्पन्न हुन नसकेको जानकारी दिईन् । बसपार्क निर्माणमा देखिएका अल्झनहरु सल्टाएर काम जारी रहेकाले एक महिनामै अस्थायी बसपार्क खाली गरिने उनको भनाई छ ।  सिटी बसपार्क निर्माणमा तोकेको समयभन्दा ढिला भएकाले समयमै काम सक्न पहल गरिरहेको उप–प्रमुख ढकालले उल्लेख गरिन् ।

निर्माणाधिन बसपार्कमा वाल निर्माण, सटर र कालोपत्रेको काम सम्पन्न भएपनि अन्य काम बाँकी छ । बसपार्क निर्माणको जिम्मा चाङ्गमीला नरसिंह–जेभीले लिएको छ । झण्डै दुई दशकदेखी सुर्खेतमा सिटी बसपार्क निर्माणको चर्चा चलेको थियो । तर आर्थिक वर्ष २०७२।०७३ बाट झण्डै सात करोडको लागतमा बसपार्क निर्माणको काम शुरु भएपनि हालसम्म पनि पूर्णता पाएको छैन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!