इस्तानबुलमा बिस्फोट, २९ जनाको मृत्यु

Posted on: 11 Dec, 2016

मङ्सिर २६, इस्तानबुल । टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ । 

सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

फुटबल प्रेमीहरुले खेलमैदान छाडेपछि मात्रै घटनास्थलमा विस्फोट भएको उपप्रधानमन्त्री नुमान कुर्तुल्मु बताउनु भयो । बिस्फोट धेरै शक्तिशाली भएको र बोस्फोरसको दुवै तर्फ सुनिएको थियो । 

घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको र १७ जनाको शल्यक्रिया भईरहेको स्वास्थ्य मन्त्री रेसेप आक्डगले जानकारी दिनुभयो । 

राष्ट्रपति रेसेप तायिप इर्डोगानले ट्विटर एकाउण्टमा “हाम्रो संघर्ष जारी छ,” लेख्नु भएको छ । इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो । त्यतिबेला अन्तराष्ट्रिय विमानस्थलमा तीन वटा आत्मघाती बम हमला भएका थिए भने ४५ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!