जेठ ९, काठमाडौँ | सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औं पटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो ।
सन् २०१९ मा एक हप्तामा दुई पटक (२३ औ र २४ औ पटक) सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः एक हप्तामा दुई पटक (२७ औ र २८ औ पटक) सगरमाथाको चुचुरोमा पुगेका हुन्।
गत बुधबार (जेठ ३ गते) २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता आज आज(जेठ ९)बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औँ पटक सफल आरोहण गरेका।
सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।