२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा छ सय ४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरु मरे

२०८०, १५ जेष्ठ सोमबार ०८:३१

जेठ १५, काठमाडौँ | अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उहाँले बताउनुभयो । लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन् । म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उहाँले बताउनुभयो । 

ऋषिङ गाउँपालिकामा भने कम सङ्ख्यामा पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । डा श्रेष्ठका अनुसार सङ्क्रमण भएका पशुमध्ये ४३ गाईगोरु मरेका छन् । आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दीपुरमा दुई, देवघाटमा दुई र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको सङ्क्रमणबाट मरेको उहाँले बताउनुभयो । “खासगरी यस रोगबाट मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । 

व्यवसायिकरुपमा बढी पशु पालिएका क्षेत्रमा सङ्क्रमण फैलिए बढी नोक्सान हुनसक्ने उहाँको भनाइ छ । “यसको निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्छ, यसका लागि सर्कुलेशन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतता आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ ।” खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

व्यास–५ चिन्टुटारका पशुपालक किसान नरे नेपालीले केही दिनअघि एउटा गाईमा लम्पीस्किन देखिएको बताउनुभयो । लम्पीस्किन देखिएकाले विज्ञ केन्द्रमा पशुवस्तुको उपचार तथा रोग नियन्त्रणका लागि जानकारी गराउन आएको उहाँले बताउनुभयो । 

सोही ठाउँका बलबहादुर दरैले भन्नुभयो, “चार÷पाँच दिनअघि मात्रै एउटा गाईमा लम्पीस्किन देखिएको थियो, अहिले फेरि अर्कोमा देखिएको छ, यसको उपचार तथा नियन्त्रणका बारेमा जानकारी लिन विज्ञ केन्द्रमा आएका हौँ ।” पशुपालकको मुख्य आय नै दूध बिक्री भएको र यसरी रोग लागेपछि दूध बिक्री गर्न पाइँदैन भने आम्दानी कसरी गर्ने भन्ने समस्या भएको कृषक दरैले बताउनुभयो । 

खोपको व्यवस्थापन गरी सङ्क्रमण भएका गाईवस्तुलाई छुट्टै स्थानमा राख्न डा श्रेष्ठले अनुरोध गर्नुभयो । “लम्पीस्किन भएका गाईवस्तुलाई आइसोलेशन गरेर उपचार गर्ने र दूध बिक्री गर्नुहुदैन, दूध तथा सङ्क्रमण भएका गाईलाई स्याहारसुसार गरी अर्कोतर्फ जाँदा मान्छेको माध्यमबाट पनि यो रोग सर्न सक्छ, त्यसले गर्दा सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।  

लम्पीस्किन भाइरल रोग हो । झिँगा, लामखुट्टे, विभिन्न किराबाटको टोकाइबाट जोगाउनुपर्ने हुन्छ । यो रोगको सङ्क्रमणले पशुमा फोका निस्कने हुन्छ । यस रोगको सङ्क्रमणले पशुवस्तुलाई कमजोर बनाउने गर्दछ । 

सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ । सकेसम्म आइसोलेशन गर्ने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने विज्ञ केन्द्रले जनाएको छ । 

लम्पीस्किन रोग नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारसमक्ष ‘आकस्मिक उपचार’का लागि कोष स्थापना गर्न माग गरिएको डा श्रेष्ठले बताउनुभयो । कोष स्थापना गरिएमा यस्ता आकस्मिकरुपमा लाग्ने रोग तथा बाढीपहिराबाट पशुपालक किसानलाई क्षति भएमा सहयोग गर्न सहज बनाउने गरी प्रदेश सरकारसमक्ष माग गरिएको उहाँले बताउनुभयो । 

पशुपालन गरिएका क्षेत्रमा ठूला फार्म सञ्चालन गरिएका छन् । त्यस क्षेत्रमा व्यावसायिक पशुपालन गरिएकाले यस रोगको सङ्क्रमण भएमा जिल्लामा अझ प्रकोपले महामारीको रुप लिने भएकाले सचेतना अपनाउनुपर्ने उहाँको सुझाव छ । विज्ञ केन्द्रले स्थानीय सरकारलाई सचेतना अपनाउन सुझाव तथा खोप खरिद गर्न अनुरोध गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस