पढ्न करिब 3 मिनेट लाग्छ

कार्तिक १७, काठमाडौं | नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २७ गते निधन भएसँगै इलाम २ मा प्रतिनिधिसभा सदस्य खाली भएको छ । प्रतिनिधिसभा सदस्यमा विजयी नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

प्रतिनिधिसभा सदस्यको पद खाली भए पनि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेको छैन । केही दिनअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा वैशाखमा उपचुनाव गर्ने गरी आयोगले तयारी थालेको संसदीय समितिसमक्ष जानकारी गराएका थिए ।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरुमा उम्मेदवार बन्न चाहनेको नेताहरुबारे चर्चा सुरु भइसकेको छ ।

सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी तथा स्वतन्त्र पार्टीमा समेत उम्मेदवार बन्न चाहने नेताहरु देखिएका छन् । जिल्लामा नबस्ने अनुहारसमेत अहिले निर्वाचनलाई लिएर आकाङ्क्षीका रूपमा जिल्लामा देखिन थालेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । साझा उम्मेदवार बनाउने विषयमा एक भए पनि को उम्मेदवार बन्ने भन्ने अहिलेसम्म पक्का भएको छैन ।

एमालेमा सुहाङको चर्चा

आगामी उपनिर्वाचनमा सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ एमालेको तर्फबाट उम्मेदवार बन्नसक्ने चर्चा छ । जिल्लामा लामो समय नबसेको भए पनि उनलाई उम्मेदवार बनाउने एमाले वृत्तमा चर्चा छ ।

यस्तै गणेश बराल, उमेश गुरुङ र रवीन्द्र सुवेदी पनि उम्मेदवारको आकाङ्क्षी छन् । बराल यसअघि जिल्ला समन्वय समिति इलामको प्रमुख भएका थिए । २०७९ को प्रदेशसभा निर्वाचनमा भने उनी पराजित भए ।

गुरुङ एमाले इलामका सचिव र सुवेदी उपसचिव हुन् । युवाहरूका माझमा सुवेदी लोकप्रिय छन् । योबाहेक सुवासचन्द्र नेम्बाङको सहयोगी भएर लामो समय काम गरेका बुद्धि खनाल पनि उम्मेदवारको आकाङ्क्षी छन् ।

इलाम क्षेत्र नम्बर २ मा २०५६ सालदेखि नेम्बाङ विजयी हुँदै आएका थिए । २०५१ सालको निर्वाचनमा भने काङ्ग्रेसका बेनुपराज प्रसाईं विजयी भएका थिए । उनले झलनाथ खनाललाई हराएका थिए ।

काग्रेसमा को को छन् आकांक्षी ?

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काङ्ग्रेसका डम्बरबहादुर खड्का ११४ मतान्तरले पराजित भएका थिए ।

काङ्ग्रेस इलामका सभापतिसमेत भएका खड्का उपनिर्वाचनका पनि प्रमुख दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकट खड्का यस पटक पनि उम्मेदवार हुने काङ्ग्रेस इलामका नेताहरू बताउँछन् ।

नेपाल शिक्षक सङ्घ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा पार्टीका जिल्ला सचिव पूर्णप्रसाद गौतम पनि उम्मेदवारको दौडमा छन् । शिक्षण पेसा त्यागेर राजनीतिमा सक्रिय उनको चर्चा छ । उनले आफू उम्मेदवारको आकाङ्क्षी रहेको बताए । गौतमले भने, पार्टी भनेर लागियो, पाएको जिम्मेवारी नलिने भन्ने कुरै छैन ।’

उनीबाहेक कांग्रेस इलामका पूर्वसभापति केशव थापा पनि उम्मेदवार हुने दौडमा छन् ।

रास्वपाबाट महेन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भने महेन्द्र थापा उम्मेदवार हुने चर्चा छ । तर, उनी जिल्लामा चिनिएको नाम होइन । जिल्लाभन्दा बाहिर बस्दै आएका थापा उपनिर्वाचन हुने भएपछि भने जिल्लामा हुने कार्यक्रमहरूमा देखिने गरेका छन् ।