मङ्सिर १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो ।
बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।
मंगलबारको बैठकमा पार्टीको लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन, पार्टीको प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले प्रशिक्षण सम्बन्धी प्रतिवेदन, सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुझावहरु आएको उपसभापति अर्यालले जानकारी दिए । मंगलबारको बैठकमा महाधिवेशनको एजेण्डा पनि प्रवेश भएको अर्यालले बताए ।
यसअघि सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग र प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । पहिलो दिन रास्वपाका सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए