पढ्न करिब 2 मिनेट लाग्छ

माघ ९, काठमाडौँ | कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रणको तालिम लिन संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा नेपाली प्राविधिकहरु भारत जाने भएका छन्।

अन्न तथा फलफूल बाँदरले खाने समस्याका कारण देशैभरका किसान पीडित भइरहेको बेला भारतमा सफल मानिएको बाँदर बन्ध्याकरणको तालिम लिन नेपाली प्राविधिकहरु जाने भएका हुन्।

भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफलता पाएपछि समिति र भारतीय दूतावासको सक्रियतामा पहिलो चरणमा १५ जनालाई तालिमका लागि पठाउन लागिएको हो।

कृषि समितिका उपसचिव शिवदत्त बरालका अनुसार १० जना पशु चिकित्सक र ५ जना रेञ्जरलाई तालिममा जानेछन्। बरालले भने, ‘उहाँहरु जनवरीको अन्तिम वा फेब्रुअरीको पहिलो साता तालिमका लागि जानुहुनेछ। तालिम हप्ता दश दिन हुनेछ।’

तालिमका लागि गएको प्राविधिक टोली फर्किएपछि एक्सपोजर भिजिटका लागि सांसदहरु हिमाञ्चल जाने तयारीमा छन्। भिजिटका लागि प्रारम्भिक रुपमा १८ जना सांसदले नाम टिपाएका छन्।

नेपालको प्रचलित कानुनअनुसार बाँदर मार्न पाइँदैन। कानुनले बाँदर मार्न नपाइने हुँदा प्रत्येक वर्ष बाँदरको संख्या बढ्दा कृषि उपज जोगाउनै समस्या भइरहेको गुनासो किसानहरुको छ।

बाँदर दुःख दिएको गुनासो आएपछि स्थानीय तहहरुले धपाउन वार्षिक बजेटसमेत विनियोजन गर्न थालेका छन्।

समितिको सिधै दूतावाससँग सम्पर्क

बाँदर नियन्त्रणका लागि समितिले भारतीय दूतावासँग आफूखुशी सम्पर्क गरेको छ।

राज्यका कुनै पनि निकायले आफ्नो तालुकदार निकाय हुँदै परराष्ट्र मन्त्रालयमार्फत सम्पर्क गर्नुपर्ने भए पनि कृषि समितिले सोझै दूतावासँग तालिममा पठाउनेबारे औपचारिक कुराकानी गरेको संसद सचिवालय स्रोतले जानकारी दियो।

समितिले संसद सचिवालयको अन्तर्राष्ट्रिय शाखामार्फत परराष्ट्र मन्त्रालय हुँदै दूतावाससँग सहयोग आदानप्रदानको विषयमा कुराकानी गर्नुपर्ने संसद सचिवालयका एक अधिकारीले बताए।

समितिले आफूखुशी दूतावासँग सम्बन्ध कायम गरेपछि आइतबार सभामुख देवराज घिमिरेले आह्वान गरेको संसदीय समितिका सभापतिहरुको बैठकमा समेत यो कुराले प्रवेश पाएको थियो।

बैठकमा सहभागी ती अधिकारीले भने, ‘सभामुखज्यूले हाम्रो अभ्यास र कानुनअनुसार मात्रै सभापतिहरुलाई अन्तराष्ट्रिय सम्बन्ध राख्न निर्देशन दिनुभएको छ। कृषि समितिको कुरा बैठकमा उठेको थियो।’