आधारदर घटेपछि यी ४ वटा बैंकको ब्याजदर सबैभन्दा सस्तो!

Posted on: 30 Jun, 2023

असार १५, काठमाडौँ | वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो ।

योसँगै हाल दुई सरकारी बैंकसहित चार वटाको आधारदर एकल अंकमा झरेको छ । जसकारण यी बैंकबाट तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण पाइनेछ ।

बैंकको आधारदरले नै ऋण लिँदा सस्तो र महँगो पर्ने हुन्छ । बैंकहरुले ऋण प्रवाह गर्दा आधारदरमा प्रिमियम जोडेर ब्याज लिने गर्छन् । राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नबिल बैंक र नेपाल बैंकको आधारदर एकल अंकमा छ । यी बैंकहरुको आधार दर १० प्रतिशतभन्दा तल झरेको छ ।

बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर १०.३४ प्रतिशतमा आएको छ । त्यसअघिको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

आधारदरले २१ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइने देखाउँछ । उसको आधारदर ८.२४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । यस आधारमा पनि यस बैंकबाट १०.२४ प्रतिशतदेखि १३.२४ प्रतिशतसम्मको ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा प्रवाह हुनेछ ।

यस्तै कम आधारदर भएको दोस्रोमा चार्टर्ड बैंक परेको छ । यसको आधारदर ९.२९ प्रतिशतमा ऋण लिँदा २ देखि ५.७५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ ।

यस्तै नेपाल बैंकको आधार दर ९.५५ प्रतिशत छ । बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदरमा थप २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ ।

नबिल बैंकको आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । यसको आधारदर ९.६५ प्रतिशत छ ।

धेरैजसो बैंकहरुको प्रिमियम २ देखि ५ प्रतिशतसम्म रहेको छ । अहिले बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर पनि एकल अंकमा झारिसकेका छन् । व्यक्तिगत मुद्दतीमा ९.९९ प्रतिशत छ भने संस्थागतमा व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!