निजी लगानीमा राजमार्गमा पुल

Posted on: 02 Oct, 2016

असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामोडको मुक्तिचोक नजिक अदुवा खोलामा ४० वर्षअघि निर्माण गरिएको एउटा पक्की पुल पूर्णरुपमा जीर्ण भएपछि छेउमैमा ढुङ्गानाले फलामे पुल निर्माण गर्नुभएको हो । 

पुलको शनिबार एक समारोहबीच विधिवत् उद्घाटन गरिएको छ । चार फिट ९ इञ्च चौडा र ५७ फिट लम्बाइ रहेको फलामे पुलबाट पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्सा र सिटी रिक्सा सजिलै ओहोरदोहोर गर्न सक्छन् । 

शङ्कराचार्य पीठ साधुटारका उपाध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले पुलको उद्घाटन गर्नुभएको थियो । 

पुलका निर्माता ढुङ्गानाले दानमा गरिएको सामाजिक कार्य भएकाले खर्चको विवरण प्रचारमा ल्याउन अनिच्छा देखाउनुभएको छ । कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक उहाँ जिल्लामै दानवीरका रुपमा परिचित हुनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!