कपिलवस्तु नगरपालिकाको बजेट ६१ करोड २४ लाख

Posted on: 29 Aug, 2017


इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ करोड २४ लाख ५९ हजार प्रस्तुत गरिएको छ । 

कपिलवस्तुको तौलिहवामा नगरपालिकाको प्रथम नगर सभामा नगर प्रमुख किरण सिंहले बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सो प्रस्तुत गरेका हुन । कुल बजेट रकम मध्ये चालु २८ करोड ३० लाख ४० हजार तथा पुजीगत बजेट रकम ३२ करोड ९४ लाख १८ हजार रहेको छ । 

पूर्वाधार विकासमा २२ करोड ७२ लाख, सामाजिक विकासमा २ करोड ९८ लाख, आर्थिक विकासमा ३ करोड ६५ लाख, वातावरण, खानेपानी सरसफाई तथा प्रकोप ब्यवस्थापनमा ९० लाख, संस्थागत विकास तथा सेवा प्रभाहमा २ करोड १० लाख प्रबद्र्धनात्मक कार्यक्रममा ५७ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक र पर्यटकीय क्षेत्रले भरिभराउ रहेको कपिलवस्तु गरपालिकामा पूर्वाधार तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख किरण सिंहले बताए । 

नगर क्षेत्र भित्र रहेका सडकहरुको व्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात गुरुयोजना संजालको विस्तार गरिने जनाइएको छ । सभाको उद्घाटन गर्दे खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कपिलवस्तु नगरपालिकाको विकासमा पर्यटनलाई मुख्य रुपमा लैजानु पर्ने बताए । बुद्धसँग जोडिएका स्थानहरुको प्रचार प्रसार तथा अन्य विकासात्माक काम गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको कपिलवस्तुमा लामो समयपछि परिवर्तन आएकाले विकासले गति लिने बिश्वास ब्यक्त गरे । 

त्यस्तै कपिलवस्तु क्षेत्र नं. २ का सांसद अतहर कमालले नगरपालिकाले पूर्वाधार र पर्यटकीय स्थलको विकासलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!