सुर्खेतमा फुटपाथ व्यवसाय गर्नेहरुद्वारा नगरपालिकामा धर्ना

Posted on: 20 Apr, 2018

सुर्खेत, ७ बैशाख । फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले वीरेन्द्रनगर नगरपालिकामा शुक्रबार धर्ना दिएका छन् । वैकल्पिक व्यववस्थानविनै आफुहरुको उठिबास गराएको भन्दै उचित ठाउँको व्यवस्थापनको माग राख्दै उनीहरुले धर्ना दिएका हुन् ।

आफूहरुको गरी खाने बाटो नगरपालिकाले खोसेकाले आन्दोलन गर्नु परेको नेपाल स्वरोजगार श्रमिक संघका अध्यक्ष बालकुमारी थापाले जानकारी दिइन् । नगरपालिकाभित्र अव्यवस्थित रुपमा व्यापार गरिरहेको भन्दै नगरपालिकाले केही दिन अघि उनीहरु हटाएको थियो । आफूहरुका लागि नगरपालिकाले व्यापार गर्ने स्थान मिलाइदिनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएपनि सम्बोधन नभएको थापाले बताईन् ।

तत्काल आफूहरुलाई उचित स्थान नदिए कडा आन्दोलन गर्ने बताएकी थापाले बैकल्पिक व्यवस्थापनविना नगरपालिकाले हटाउँदा परिवार पाल्न समस्या भएको बताईन् । व्यापारीहरुका लागि वैकल्पिक व्यवस्था गर्ने तयारी भईरहेको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार फुटपाथलाई व्यवस्थान गर्न उचित ठाउँको छनौट गर्न आफूहरु जुटेकोले केही दिनमै व्यवसायिक हाटबजारको व्यवस्था गरिने उल्लेख गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!