आजदेखि बुद्धभुमी नेपालको आईपीओ विक्री खुला

Posted on: 16 Aug, 2021

साउन ३२, काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आज साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । कम्पनीले नुवाकोट जिल्लाका बासिन्दाहरुको लागि ४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

बुद्धभुमीले १२ लाख कित्ता साधारण शेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर नुवाकोट जिल्लाका बासिन्दाका लागि छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्म बिक्री खुला गर्ने छ । स्थानीय प्रभावित बासिन्दाले नुवाकोट जिल्लामा रहेका बैंकहरु ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

प्रभावित बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्य आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यस हिसावले आयोजनाको जम्मा लागत एक अर्ब १९ करोड रुपैयाँ पर्न जानेछ ।

पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाएको शेयर बिक्री गरिसके पछि दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर निष्काशन गर्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक समुहको ७० प्रतिशत अर्थात २८ करोड रुपैयाँ, १० प्रतिशत प्रभावित बासिन्दाका लागि ४ करोड रुपैयाँ र सर्वसाधारणका लागि २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ सहित जम्मा चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।

आयोजनाको निर्माण सम्पन्न भएर विद्युत विक्री हुन थाले पछि कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!