५ महिनामा एक खर्बभन्दा बढीको निर्यात

Posted on: 23 Dec, 2021

पुस ८, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनाकाे अवधिमा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ। यो गएको वर्षको पाँच महिनाको तुलनामा एक सय पाँच दशमलव ६१ प्रतिशतले धेरै हो।

गएको वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब पाँच करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो। पाँच महिनामै एक खर्ब रुपैयाँको सामग्री निर्यात हुनुलाई वैदेशिक व्यापारको क्षेत्रमा ठूलो सफलताको रूपमा हेरिएको छ । गएको आर्थिक वर्ष २०७७/७८ मा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको थियो।

सरकारले २०६४ सालमा बनाएको तीन वर्षे अन्तरिम योजनामा आर्थिक वर्ष २०६६/६७ भित्र नेपालको निर्यात व्यापारलाई वार्षिक एक खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेकोमा पूरा नभएपछि आर्थिक वर्ष २०६९/७० मा एक खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य लिएको थियो।

तर सरकारको लक्ष्य गएको वर्ष मात्रै पूरा भएको थियो। यो वर्ष भने पाँच महिनामै नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको हो। चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ३० अर्ब रुपैयाँको सोयाबिन तेल, २७ अर्ब रुपैयाँको पाम तेल, दुई अर्ब रुपैयाँको सनफ्लावर तेल, दुई अर्ब रुपैयाँको अलैँचीलगायतका वस्तु निर्यात गरेको छ। यस्तै चिया, कफी, पस्मिना, जडीबुटी, छुर्पीलगायतका वस्तु धेरै निर्यात हुने गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!