कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने

Posted on: 13 Oct, 2022

असोज २७, काठमाडौं | असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले कात्तिकमा भने नबढाउने भएका छन् । ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैकहरू पुगेका हुन् ।


बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । नेपाल बैंकर्स संघले असोजसम्म ६ महिनादेखि भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए ।

राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै ११.०३ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुर्‍याइएको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेकोले अहिले साधारण बचतको ब्याजदर पनि ७.१३ प्रतिशत छ । यस्तै राष्ट्र बैंकले व्यक्रिगत मुद्दतीको भन्दा संस्थागत मुद्दतीको अधिकतम ब्याजदर २ प्रतिशत बिन्दु कम गर्नुपर्ने व्यवस्था गरेकोले अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३ प्रतिशत कायम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!