मुख्यमन्त्रीको पिए हुँ भनी ठग्ने पक्राउ

Posted on: 09 May, 2024

बैशाख २७, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वकीय सचिव (पिए) हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ बस्ने २८ वर्षीय सुवास सुवेदीलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले सुवेदीलाई कास्की ल्याएपछि बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको हो ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पोखरा–६, लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरी विमानको टिकट काटन लगाएको र पछि पैसा नदिएको जानकारी दिनुभयो ।

“मुख्यमन्त्रीको पिए हुँ भनी पोखरा काठमाण्डौंको टिकट काट्न लगाईको पाइयो । क्युआर कोर्डबाट पछि पैसा पठाइदिन्छु भनी नपठाएको देखियो,” शर्माले भन्नुभयो । सुवेदीविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

सुवेदीविरुद्ध यसअघि पनि यस्तै प्रकृतिको ठगीका तीन जाहेरी रहेको प्रहरीले जनाएको छ । होटलहरुमा खानपिन गर्ने पैसा नतिर्ने, मुख्यमन्त्री र वालुवाटारबाट बोलेको हुँ भनी ठगी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!