कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मत लिने

Posted on: 16 Oct, 2023

असोज २९, काठमाडौँ | कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ मा विश्वासको मत लिने भएका छन्। उनले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर त्यसबारे जानकारी गराएका हुन्।

‘कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकाले मिति २०८०/०७/०१ गते बुधबारको दिन कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्नेसम्बन्धी सूचना दिएको छ’, कार्कीले सोमबार सचिवालयमा दर्ता गराएको पत्रमा भनिएको छ।

कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीका लागि उनले बिहीबार एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षरयुक्त समर्थन पेस गरेका थिए।

कार्कीले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। उनले एमालेका एक र कांग्रेस एक मन्त्री पनि नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरिसकेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!