कन्सर्टमा एलिनालाई साउन्ड टेक्निसियनले ‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ भनेपछि...(भिडिओ)

Posted on: 04 Mar, 2024

फागुन २१, काठमाडौं | गायिका एलिना चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद भएको छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुत दिन एलिना हिजो साँझ पुगेकी थिइन् ।

सुरुबाटै कार्यक्रममा साउन्ड सिस्टम राम्रो थिएन । पानी परिरहेको भन्दै टेक्निसियनले मोनिटर नराखेपछि एलिनालाई गाउन सकस परेको थियो । दर्शकहरूले हुटिङ पनि गरेका थिए । एलिनाले दर्शकलाई फकाउँदै केही गीत गाइन् । तर, अन्तिम गीत गाउनु भन्दा अगाडि उनी रोकिइन् ।

‘धोकेबाज गायिका भएर होला साउन्डले पनि धोका दिएको,’ उनले माइकमा नै ठट्टा गर्दै भनिन् । दर्शक हो… हो… भन्दै कराए ।

एलिनाले आफ्नो प्रस्तुति अन्त्य गर्न खोजिन् । तर, दर्शकले थप डिमान्ड गर्न थाले ।

‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् ।

तर, साउन्ड टेक्निसियनले भने एलिनालाई नै दोष देखाए ।

उनले भने, ‘पहिले तपाईँ आफ्नो भोकललाई क्लीयर गर्नु अनि हामीसँग लेबल माग्नु ।’

टेक्निसियनको जवाफले एलिना थप असन्तुष्ट बनिन् ।

उनले भनिन्, ‘तपाईँको बोल्ने ढंग सुधार्नु बुझ्नु भो ? आफ्नो गल्ती देख्नुहुन्न ? यहाँ उभिएर एकचोटि हेर्नु त ।’

टेक्निसियनले फेरि उही जवाफ दोहोर्‍याए ।

‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ उनले भने ।

भनिन्, ‘तपाईँ मलाई सिकाउनु पर्दैन बुझ्नुभयो ? नाच्न नजान्ने आँगन टेढो भनेको यही हो । साउन्ड मिलाउन आउँदैन ?’

त्यसपछि एलिनाले आयोजकका व्यक्तिहरूसँग कुरा गरिन् । साउन्डमा सुधार नभएपछि उनले अन्तिम गीत गाउन सकिनन् । उद्घोषले एलिनालाई धन्यवाद दिए । एलिनालाई सेक्युरिटी दिएर त्यहाँबाट बाहिर निकालियो ।

एलिना गइसकेपछि साउन्ड टेक्निसियनमाथि दर्शक खनिएका थिए । उनीमाथि हातपात पनि भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!