दाँतमा किरा किन लाग्छ ? यी हुन् दाँत दुखाइबाट बच्ने घरेलु उपाय

Posted on: 13 Aug, 2023

काठमाडौं | आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ ।

सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत किराले खाएको छ ।

नेपालमा गरिएका दन्त स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनलाई औल्याउँने हो भने औसतमा नेपालका ५५ देखि ६० प्रतिसतसम्म बालबालिकाको दाँत किराले खाएको छ ।

दन्तरोग विशेषज्ञहरूका अनुसार, दाँत सड्दा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो । बोलिचालिको भाषामा यसलाई दाँतमा किरा लाग्नु वा दाँत किराले खानुसमेत भनिन्छ ।


दाँतमा भएको सूक्ष्म प्वाललाई उपचार नगरी छोड्दा त्यहाँ भोजनका कणहरू जम्मा हुन थाल्छन् ।

धेरैजसो रोगीलाई खाना दाँतमा टाँस्सिने समस्या हुन्छ । प्वाल (क्याभिटी)लाई उपचार नगर्दा, अझ संवेदनशीलता बढेपछि रोगीको दाँतसमेत दुख्न थाल्छ । प्वाल जरोसम्म पुग्नाले र गहिरो हुनाले अमिलो, चिसो पानी, न्यानो पदार्थ, पिउँदा वा चपाउँदा पीडा सुरु हुन्छ ।

यदी दाँतमा कालो खैरो दाग छ र दाँत दुख्छ भने दाँतमा किरा लागेको हुन सक्छ । यस्तो बेला दन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

हाम्रो मुलुकमा बालबालिकाको दाँत किराले खाने समस्या दन्त स्वास्थ्यमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा गिजाको समस्या देखिएको छ  । गिजाको समस्याचाहिँ वयस्कहरूमा बढी हुन्छ 

यसकारण लाग्छ दाँतमा किरा

विश्व स्वास्थ्य संगठनका अनुसार, औद्योगिक राष्ट्रहरूका ७० देखि ९५ प्रतिशतसम्म बाल- बालिकाको दाँतमा किरा लाग्ने गरेको छ ।

१२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याइएको छ । खानपानमा जागरणको अभाव, बालबालिकालाई दुध चुसाउने शैली, दूध पिएपछि मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।

खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ ।

ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।

यदी धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले  दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा किरा लाग्नु हो ।

दाँतमा किरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग गर्नु नै हो ।

बालबालिकामा दाँत सड्ने समस्याको मुख्य कारण पाउरोटी, बिस्कुट आदिको सेवन र अत्यधिक गुलिया खाद्यहरु चक्लेट मिठाइ आदि रहेको छ ।

भारतको गभर्नमेन्ट मेडिकल कलेज कन्नौजकी दन्तरोग विशेषज्ञ मधुलिका यादवले दाँतको किराबाट छुटकारा पाउने उपायबारे जानकारी दिएकी छिन् ।

  • फिट्किरी

दाँतको समस्याबाट राहत पाउन फिट्किरी प्रभावकारी मानिन्छ । यसका लागि फिट्किरी पाउडरलाई सिरे नुन मिसाउनुहोस् । त्यसपछि ब्रसको मद्दतले यो सम्मिश्रणलाई दाँतमा लगाउनुहोस् । दैनिक जसो यसो गर्नुभयो भने दाँतको दुखाई छिट्टै कम हुनेछ । 

  • तोरीको तेल

दाँतसँग सम्बन्धित समस्या हटाउन तोरीको तेल लाभदायी मानिन्छ । दाँतमा किरा लागेको छ भने तोरीको तेलमा बेसार र नुन मिसाउनुहोस् । त्यसपछि यसलाई ब्रसको मद्दतले दाँतमा हल्का हातले रगड्नुहोस् । नियमित रूपमा दिनमा दुई पटक यसो गर्दा दाँतमा लागेको किरा छिट्टै हट्छ । 

  • हिङ पाउडर

हिङ खानुका थुप्रै फाइदा छन् । विशेष गरी यो दाँतका लागि फाइदाजनक छ । तपाईंले हिङको पाउडरलाई पानीमा हालेर उमाल्नुहोस् । त्यसपछि मनतातो भएपछि यो पानीले कुल्ला गर्नुहोस् । यस्तो गर्दा दाँतमा लागेको किराबाट छुटकारा पाउन सकिन्छ ।

  •  निम

दाँतलाई सफा गर्न निम पनि असरदार छ । निमलाई नियमित चपाउँदा दाँत र गिजा बलिया हुन्छन् । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । निमको पातले प्लाक हटाउन मद्दत गर्छ । निमको बोक्रा वा पात केही मिनेट चपाउनुहोस् र सफा पानीले कुल्ला गर्नुहोस् । यस्तो गर्दा दाँत स्वस्थ हुन्छ । 

  • ल्वाङको तेल

दाँतको समस्याबाट राहत पाउन ल्वाङ निकै प्रभावकारी मानिन्छ । ल्वाङले क्याभिटीसँग लड्न सहयोग गर्छ । किरा लागेको दाँतमा ल्वाङको तेल लगाउनुहोस् र केही बेरका लागि यत्तिकै छोड्नुहोस् । नियमित यस्तो गर्दा किराबाट छुटकारा पाइनेछ र दाँत पनि स्वस्थ रहन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!