जेठ ६, काठमाडौँ । विराटनगरमा रहेको विराट नर्सिङ अस्पताललाई ८ लाख रुपैयाँ बुझाउन नसकेपछि ३ दिनदेखि शव अस्पतालमै राखिएको छ।
अस्पतालमा तिर्नुपर्ने रकम बुझाउन नसकेपछि सप्तरीको बलानबिहुल गाउँपालिका-२ का ४२ वर्षीय श्याम कुमारी रामको शव अस्पतालमा राखिएको हो।
उनका श्रीमान उमेश रामले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर अस्पतालले ८ लाख रुपैयाँ तिरेपछि मात्र शव लैजान दिने बताएको जानकारी दिए। उनले भने, ‘श्रीमतीको मृत्यु भएको आज तीन दिन भयो। अस्पतालले रकम बुझाएपछि मात्र शव लैजान दिने भन्दै आएको छ।
तीन दिन भयो सुतेको छैन। आफन्त शव कुरेर बसिरहेका छन्।’
चैत ५ गते स १ त ३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन्। परिवारले उनलाई उपचारका लागि विराट नर्सिङ होममा ल्याएका थिए। उपचारका क्रममा उनको वैशाख ३ गते मृत्यु भयो। आर्थिक अवस्था नाजुक रहेको रामको उपचारमा १२ लाख खर्च भएको उमेशले बताए। हस्पिटलको १२ लाखमध्ये चार लाख ७४ हजार रुपैयाँ र फार्मेशीको ८ लाख मध्ये ५ लाख २५ हजार रुपैयाँ दिएको बताए।