पुस २०, काठमाडौं | १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएका गोरखाका चन्द्र घलेले हालसम्म तीन पटकमा २६ किलो सुन तस्करी गरी ल्याएको र एक पटक सुन बोकी आउँदा ७० हजार रुपैयाँ पाउने बयान दिएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलसमक्ष घलेले दिएको बयानमा आफूले अन्तिमपटक समेत गरी तीन पटक सुन तस्करी गरी ल्याएको र तस्करीमा गोरखाकै मीनबहादुर घलेको संलग्नता रहेको बयान दिएका हुन् ।

चन्द्रले आफ्नो बयानका क्रममा दुबईमा मीनबहादुर घलेले भनेको व्यक्तिले सुन दिने गरेको र त्यसका लागि ५ दिरामको नोट र कोड नम्बर रहने गरेको पनि बताए । सुन दिने व्यक्ति को हुन् भनेर थाहा नहुने र नेपालबाटै मीनबहादुर घलेले दिएको नोट र कोड नम्बरका आधारमा गिरोहले सुन रहेको ज्याकेट दिने गरेको बयान उनले दिएका छन् ।

दुबईबाट सुन ल्याएर त्रिभुवन विमानस्थलको आगमन कक्षको शौचालयमा रहेको डस्टबिनमा राखिदिने गरेको पनि चन्द्रले बयानमा उल्लेख गरेका छन् । त्यहाँबाट सफाई कर्मचारी, एसी मेण्टिनेन्सका कर्मचारी, प्लम्बर आदिले सुन ल्याएर तस्कर समूहका सदस्यलाई दिने गरेको उनले जनाएका छन् । दुबईमा भने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी भन्सार तिरेरै सुन ल्याउने गरेकोसमेत घलेले बयानमा उल्लेख गरेका छन् । दुबईमा अंकित अग्रवाल र गुरु नाम गरेका व्यक्तिले सुन दिने गरेको घलेको बयानमा उल्लेख छ ।

‘हालसम्म तीन पटक अवैध सुन ल्याएको छु, एकपटक ल्याउँदा ७० हजार रुपैयाँ पाइन्थ्यो’