इलाम-२ उपनिर्वाचन : माओवादीले कांग्रेससँग गठबन्धन नगर्ने

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ  | संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरू नै बताउँछन् ।

यसैबिच निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम-२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।


तुलनात्मक रूपमा प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसका आन्तरिक कमिटीहरू चुनाव लक्षित सांगठनिक तयारीमा जुटेका छन् । माओवादी केन्द्रले उम्मेदवार छनौटका लागि छलफल आयोजना गर्दैछ भने नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सो निर्वाचन क्षेत्रमा आफ्नो मतको अवस्था के होला भनेर अध्ययन गरिसकेको छ । पहिचानवादीहरू पनि यसपटक एकताबद्ध भएर जाने गरी लागेका छन् ।

नेम्वाङ रहँदासम्म एमालेले सो क्षेत्रबाट निरन्तर विजय हासिल गर्दै आएको थियो । कांग्रेस भने नेम्वाङसँग सधैँ पराजित हुँदै आएको छ । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ एमालेका नेम्वाङसँगै पराजित बने । २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसकै केशव थापा, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन महासमिति सदस्य भेषराज आचार्य पनि नेम्वाङसँग पराजित भए । २०७४ सालमा फेरि उनै आचार्यलाई पराजित गरेका नेम्वाङले ०७९ सालको निर्वाचनमा कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई पराजित गरे ।

नेम्वाङको बलमा निरन्तर विजयको झण्डा फहराइरहेको एमालेले वैशाखमा हुनसक्ने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउँछ भन्ने चर्चा छ । एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङ उम्मेदवार बन्न सक्ने सम्भावना बढी छ । सुहाङले सार्वजनिक कार्यक्रमहरूमा जिल्लाको विकास, जनसेवाको काममा लाग्ने बताउने गरेका छन् । त्यसका लागि जनताले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

यस्तै एमालेबाट स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्वाहाङ्फे, स्थानीय एमाले नेताहरू उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रवीन्द्र सुवेदीलगायत पनि एमालेबाट उम्मेदवार बन्ने होडमा छन् । एमालेको दह्रो आधार क्षेत्र रहेको उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न आकाङ्क्षा राख्नेको ताँती नै रहेको स्थानीय बताउँछन् । ‘पार्टीले योग्य पात्र हो भनेर भन्यो भने उठ्ने हो । तर, अहिले आफैँ म आकाङ्क्षी हो भनेको अवस्था छैन,’ एमालेका क्षेत्रीय अध्यक्षसमेत रहेका नेता बुद्धि खनालले भने । खनाल यसअघि सुवास नेम्वाङका स्वकीय सचिव पनि भएका थिए ।

उता, कांग्रेस भने पटकपटक एमालेको उम्मेदवारबाट पराजित हुनुपरेको पीडालाई भुल्ने तयारीमा छ । कांग्रेसबाट यस पटक उम्मेदवार बन्ने सम्भावना रहेका नेता उनै डम्बरबहादुर खड्का हुन् । कांग्रेस इलामका सभापति समेत रहेका खड्का ०७९ को निर्वाचनमा नेम्वाङसँग थोरै मतले हारेका थिए । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । उक्त निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारद्वय नेम्वाङ र खड्काबाहेक अन्य उम्मेदवार प्रतिस्पर्धाको नजिक पनि आउन सकेनन् ।

यसपटक पनि कांग्रेसबाट उनै खड्काको बढी सम्भावना रहेको स्रोत बताउँछ ।  यद्यपि केशव थापा र भेषराज आचार्यले पनि उम्मेदवार बन्ने आकाङ्क्षा राखेको स्थानीय सुनाउँछन् । आचार्य कांग्रेस नेता डा. शेखर कोइराला खेमाका हुन् ।

२०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो । यस पटक भने गठबन्धन नगर्ने माओवादीले जनाएको छ ।

‘हामीले अध्यक्ष प्रचण्डलाई गठबन्धन नगर्ने भनेका छौँ । जति हुन्छ, हाम्रो मत सुरक्षित गर्दै बढाउँछौँ । जित–हार त्यस्तै हो,’ माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले भने, ‘एक पटक परीक्षणमा जाऔँ भनेका छौँ । त्यसका लागि हामीले इलाममै बैठक बोलाउने तयारी गरेका छौँ ।’

पुरानो र नयाँ अनुहारमध्ये मिलाएर उम्मेदवार उठाउने उनको भनाइ छ । ‘निर्वाचन वैशाखको मध्यतिर हुने सुनेका छौँ । हामी राम्रो मेहनत गरेर एक्लै निर्वाचनमा जान्छौँ,’ उनले भने ।

गठबन्धन नहुने हो भने इलाम–२ मा कांग्रेस उम्मेदवारले जित निकाल्न गाह्रो हुने देखिन्छ ।

उता, नयाँ पार्टीको रूपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावको भित्री तयारी गरिरहेको छ । ‘आन्तरिक रूपमा हामी निर्वाचन क्षेत्रको बारेमा अध्ययन गरिरहेका छौँ । पार्टीको संरचनाले पनि झापा, इलामका साथीहरूले परिस्थिति अध्ययन गरिरहनु भएको छ,’ रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले भने, ‘सम्भावित उम्मेदवारको सूची पनि आन्तरिक रूपमा बनाएका छौँ । तर, चुनाव लक्षित कार्यक्रम भने गरेका छैनौँ ।’

उनले मत अध्ययन गर्दा रास्वपाले जित्ने अवस्था देखिएको दाबी गरे । ‘जनताले हामीसँग एकदमै आशा गरेको देखिएको छ । उम्मेदवार को हुने भन्ने कुरामा बढी चासो लिइरहनु भएको छ । हाम्रो उम्मेदवारको कम्बिनेसन मिलाउन सकेको खण्डमा हामी चुनाव जित्छौँ,’ उनले भने, ‘स्थानीयस्तरबाटै राष्ट्रिय रूपमा सामाजिक प्रतिष्ठा कमाएको व्यक्ति उठाउनु पर्छ भन्ने सुझाव हामीले प्राप्त गरेका छौँ । तर, अहिले नै ठ्याक्कै को उठाउने भन्ने निर्क्योल भएको छैन । हामी इलामका जनताले गर्व गर्ने गरी उम्मेदवार उठाउँछौँ ।’

उता, पहिचानवादीले पनि यस पटक एकताबद्ध भएर साझा उम्मेदवार उठाउने तयारी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पहिचानवादीहरुको तर्फबाट १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देनमध्ये एक जना उम्मेदवार हुने तयारी छ । ‘हामीले डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र कुमार लिङ्देनमध्ये उठाउने हो । उहाँहरूभन्दा उपयुक्त पात्र अर्को भेटियो भने विकल्पमा पनि जान सकिन्छ,’ पहिचानवादी एक नेताले भने ।

उता, आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले भने आफू स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रने बताएका छन् । आफूलाई पहिचानवादीहरुले पनि सहयोग गर्ने उनको दाबी छ ।

‘एमालेमा सुहाङलाई टिकट दिँदा विद्रोह हुने अवस्थामा छ । कांग्रेस–माओवादीले गठबन्धन गरे पनि माओवादीले कांग्रेसलाई भोट हाल्दैनन्,’ उनले भने, ‘यहाँ स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने देख्छु ।’

लिम्बूले कोशी प्रदेशमा पहिचानको आन्दोलन बढ्दै गएको सन्दर्भमा कांग्रेस र एमालेको उम्मेदवारभन्दा आफूले स्वतन्त्र उम्मेदवारी दिँदा जनताको सहानुभूति पाउन सक्ने दाबी पनि गरे । ‘

उता, एमालेबाट सुहाङ उम्मेदवार बनेको अवस्थामा वंश परम्पराको आरोप लाग्नेछ । लामो समयमा त्याग र योगदान गरेर बसेका एमालेका स्थानीय नेताहरुले कति सहयोग गर्छन् भन्ने कुरा पनि निर्णायक हुने देखिन्छ । सुहाङ एमालेको पार्टी सदस्यसमेत नभएको भनेर आलोचना हुने गरेको छ । यद्यपि सुहाङ कमजोर उम्मेदवार भने होइनन् ।

इलामको २ नम्बर निर्वाचन क्षेत्र पहिचानको आन्दोलनमा होमिनेहरूको प्रभाव क्षेत्र पनि हो । पहिचानवादीको आन्दोलनको अवस्था हेर्दा चाहिँ यसपटक कांग्रेस–एमालेलाई गाह्रो पर्ने देखिन्छ । तर, भोटको समयमा उनीहरूले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । यदि पहिचानवादीहरू एकताबद्ध भएको अवस्थामा चुनावी परिणामले धेरै बदलाव ल्याउन सक्ने स्थानीयहरू बताउँछन् ।

पूर्वी पहाडी जिल्ला एमालेको गढ मानिन्छ । इलाम पनि त्यहीमध्येको एउटा जिल्ला हो । कृषि उत्पादनको उर्वर, सुन्दर र पर्यटकीय जिल्ला इलाम एमालेको गढ हुनुमा नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि प्रमुख पात्र हुन् । नेम्वाङको मृत्यु लगत्तै पुनः गठबन्धनबाट खनाल उम्मेदवार हुने हल्ला पनि चलेको थियो । तर, अहिले त्यो चर्चा सेलाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!