पढ्न करिब 2 मिनेट लाग्छ

साउन ७, काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न खेलमा टेस्ट राष्ट्र श्रीलंकाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मलेसियामाथि एक सय ४४ रनको सजिलो जित हात पारेको छ ।

समूह ‘बी’ मा लगातार दुई जितसँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । मलेसिया भने लगातार दोस्रो हारसँगै उपाधि होडबाट बाहिरिएको छ । मलेसिया आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग २२ रनले पराजित भएको थियो ।

सोमबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयोजक राष्ट्र श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १९.५ ओभरमा अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि ओपनर ब्याट्र चामरी आथापाथ्थुले अविजित एक सय १९ रनको योगदान गरिन् । टोलीकी कप्तानसमेत रहेकी चामरीले केवल ६९ बलको सामना गरी सात छक्का र १४ वटा चौका पनि प्रहार गरेकी थिइन् ।

चामरी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी पनि बनेकी छन् । यसअघि तान्जिनियाकी फातुमा ओमारी किबासु र संयुक्त अरब इमिरेट्स (यूएई)की एसा ओजाले मात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक बनाउन सकेका थिए ।

विकेटकिपर ब्याटर अनुष्का सञ्जिवनीले पनि टोलीको खातामा ३१ रन थपिन् । उनले केवल २४ बलको सामना गरी चार चौका पनि हिर्काइन् । हर्षिथा सामराबिक्रमाले पनि २६ रन बनाइन् । उनले २३ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । मलेसियाकी बलर विनिफ्रेड दुराइसिंगमले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाका कुनै पनि ब्याट्र लामो समय क्रिजमा टिक्न सकेनन् । एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । अन्य ब्याट्सरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आइना नजवाले अविजित नौ रन बटुलिन् ।

श्रीलंकाली टोलीकी बलर साशिनी जिमहानीले तीन विकेट लिइन् । कविसा दिलहरी र काव्या काबिन्दीले पनि दुई–दुई विकेट हात पारे ।