Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत २८ गते, बिहान ८:४५ बजे
चितवन - CTW

चितवनमा रोगले कुखुरा मर्दा ६० लाख बराबरको क्षति

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २८ चितवन | रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । 

रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । 

सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताउनुभयो । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताउनुभयो । 

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताउनुभयो । 

यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताउनुभयो । चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिनुभयो । 

“हिजोसम्म अलि अलि थियो आजबाट एउटा पनि रहेन, खोर नै रित्तियो”, थापाले दुःख पोख्दै भन्नुभयो, “मेरो २० लाखभन्दा बढीको क्षति भयो ।” उहाँले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गर्नुभयो । 

शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ । 

जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताउनुभयो । रासस