पढ्न करिब 1 मिनेट लाग्छ
जेठ २२, रौतहट । इद मनाउन चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तरलाई कुटपिट गरेका छन् । मंगलबार राति भएको उक्त घटना राजपुरको महम्मुदिया मस्जिदमा भएको हो ।
ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा मागेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।


मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार छन् । उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको डिएसपी कार्कीले बताए ।
तश्वीरमा: राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तर















