Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २५ गते, अपराह्न ३:४० बजे
काठमाडौँ - KTM

सम्पत्तिका लोभमा दुई भारतीयले बनाए नेपाली नागरिकता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, काठमाडौँ (रासस) । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने  बालजी  र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १  बाट नेपाली नागरिकता लिएका हुन् । 

बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए ।

उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ । 

बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । भारतको मतदाता सूचीमा सो दम्पतीको  नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै  छ । 

 कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले कुनै पनि भारतीयले नेपाली नागरिकता लिनु गलत भएको बताउँदै प्रमाण फेला प¥यो भने तत्काल खारेज हुने स्पष्ट गर्नुभयो ।  

नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा (१) बमोजिम झुटो विवरण दिई विदेशीले नागरिकता लिएमा  एकदेखि पाँच वर्षसम्म कैद वा रु पचास हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ ।