दैलेखमा औद्योगिक ग्राम स्थापनाको तयारी

Posted on: 18 Jan, 2018

माघ ४, दैलेख । ठुलो औधोगिक क्षेत्रहरु स्थापना नभएको दैलेखमा औद्योगिक ग्राम स्थापनाको लागि तयारी थालिएको छ । 

जिल्लामा साना उद्योगहरुलाई लक्षित गरी औद्योगिक ग्राम स्थापना हुने भएको हो । औद्योगिक ग्राम नारायण नगरपालिका वडा नम्बर १ मा स्थापना हुने भएको छ ।

औद्योगिक ग्राम स्थापना अन्तिम चरणमा पुगेको लघु उद्यमी समुह संघ दैलेखका अध्यक्ष झवि खत्रीले बताए । उनले घरेलु तथा साना उद्योग विकास समिति र नारायण नगरपालिकाको सहकार्यमा औद्योगिक ग्राम स्थापना हुन लागेको जानकारी दिए । 

औद्योगिक ग्राम स्थापना वारे नारायण नगरपालिका वडा नम्बर १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले नगरपालिका र वडाले सहयोग गर्ने बताए ।

उनले औद्योगिक ग्राम स्थापनाले जिल्लालाई औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने र औधोगिक क्षेत्रको दिर्घकालिन संचालनमा नगरपालिकाले आवश्यक पुर्वाधारमा सहयोग पु¥याउने जानकारी दिए । 

उनले जिल्लामा कृषिजन्य तथा वन जन्य उद्योग स्थापना हुनुपर्नेमा जोड दिए । उनले जिल्लालाई सम्मुन्नत बनाउन र रोजगारी श्रृजना गर्न उद्योग स्थापना नै मुख्य काम भएको बताए । पहिलो चरणमा औद्योगिक ग्राममा १० वटा उद्योग स्थापना गरिने लघु उधमी समुह संघका अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।

हाते कागज, दालमोठ, अल्लो प्रशोधन, सिस्नो प्रशोधन, वाँस मुढा, दुध डेरी, दुना टपरीलगायतका उद्योग औद्योगिक ग्राममा स्थापना हुने र ग्राम भित्र तालिम सेन्टर पनि सञ्चालन गरिने जानकारी दिए । 

औद्योगिक ग्रामका लागि नारायण नगरपालिकाले जग्गा उपलब्ध गराइसकेकोले अब ग्राम बन्ने प्रक्रिया सुरु हुने भएको छ । ग्राम जिल्लास्थित आत्म निर्भर लघु उद्यम सहकारी संस्था लिमिटेड, नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समुह संघले सञ्चालन गर्ने जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!