'श्रमिक सूचना बैंक' स्थापना, बेरोजगारले अनलाइनबाटै रोजगारी खोज्न सक्ने

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौं । सरकारले 'श्रमिक सूचना  बैंक'  स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आइतबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भर्चुवल माध्यमबाट सो बैंकको उट्घाटन गरेका हुन् ।


श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण संकलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पुर्याउने श्रममन्त्री यादवले बताए । कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरू के-कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सिप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी बैंकले उपलब्ध गराउनेछ मन्त्री यादवले भने 'श्रमिक बैङ्कको स्थापनाले श्रमिकको समग्र व्यवस्थापनमा मद्दत पुर्‍याउने छ ।'

राज्यभर विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तीमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणहरु समेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने मन्त्री यादवले बताए । 

७५३ पालिकाहरुमा रहेको रोजगार व्यवस्थापन सूचना प्रणालीलाई सुदृढीकरण गरी क्षेत्रगत रुपमा सीपमूलक जनशक्तिको विवरण संकलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा अन्तरआवद्धता कायम हुने गरी प्राथिमकतापूर्वक श्रमिक बैकको कार्य गरिने लक्ष राखिएको छ । 


के थियो प्रतिवेदनमा ?

सरकारको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत श्रमिक सूचना बैङ्क स्थापना गर्ने विषय समेटिएको थियो । श्रमिक बैङ्क स्थापना गरी कार्यान्वयन गर्नका लागि श्रममन्त्रालयले विज्ञ समूह गठन गरेको थियो । श्रमिक बैंक तथा श्रम बैंक स्थापना सम्बन्धी अवधारणा तयार गर्न श्रम मन्त्रालयद्वारा गठित कार्यदलले गत जेठ १५ गते श्रममन्त्री यादव समक्ष अध्ययन प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखांकन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा रहेका छन् भन्ने अत्यावश्यक विवरण सूचना प्रविधिमा आवद्ध गरी श्रमिक र रोजगारीको क्षेत्र सम्बधी विस्तृत सूचना रहने श्रमिक (सूचना) बैंक स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरेको थियो । जसबाट क्रमश:  भविष्यमा श्रम बजारमा कुन-कुन क्षेत्रमा संलग्न हुन सकिन्छ वा कुन अवसरको उपयोग गर्न सकिन्छ भनी काममा मिलान गर्ने अभियानमा समेत आवद्ध गराउन सकिने प्रस्ताव गरेको थियो ।

 त्यसैगरी कृषि, निर्माण, सेवा क्षेत्र लगायतका ‌औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेका श्रमिकलाई श्रम बजारमा बिकाउन तथा टिकाउन, यिनलाई क्रमश: औपचारिकीकरण गर्न एवं दीर्घकालीन रुपमा सामाजिक संरक्षण गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने आवश्यकताको विषय समेत अध्ययन प्रतिवेदनमा समेटिएको थियो । उक्त प्रतिवेदनमा स्वदेश र विदेशमा काम गर्ने नेपाली श्रमिकहरुले अपनत्व महशुस गर्ने, वित्तीय सह–लगानी हुने गरी उनीहरुको उद्यमशिलताको विकासका लागि सहयोग पुर्याउने विशिष्ट प्रकृतिको बैंक स्थापना गर्ने सुझाव दिएको थियो ।

कसरी खोज्ने रोजगारी ?

बेरोजगारहरूले श्रमिक सुचना बैंकको अनलाइनमा गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्नेछ ।  रोजगारदाताले आ आफ्नो उद्योग प्रतिष्ठानमा रहेको रोजगारीको विज्ञापन प्रकाशन गर्न सक्ने व्यवस्था गरिएको छ । रोजगारदाताले राखेका विज्ञापन हेरेर बेरोजगारहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।








यस बिषयमा तपाइको प्रतिक्रिया...!