वर्क फ्रम होम, सिफ्टवाइज वर्क उपाय अपनाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिंदै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न स्वास्थ्य सतर्कताका मापदण्ड पालना गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणबाट बच्न कर्मचारीलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्येक्ष सम्पर्क नहुनेगरी कार्य वातावरण निर्माण गर्ने व्यवस्था मिलाउन, त्यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका उपाय अपनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो ।

प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्न बैंकले आग्रह गरेको छ । संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी सेनिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न भनेको छ । 

बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठि, सेमिनार, तालिमजस्ता कार्यक्रममा भौतिक दूरी कायम गर्न तथा सम्भव भएसम्म त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन बैंकले निर्देशन दिएको छ । 

राष्ट्र बैंकले कर्मचारीमा संक्रमणको शंका लागेमा अविलम्व परीक्षणको व्यवस्था गर्ने, आइसोलेसन गर्ने तथा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनको व्यवस्था गर्न भनेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!