बन्दमुक्त कन्काई नगरको मेयर र उपमेयरको चुनावी मैदानमा ११ जना

Posted on: 02 Jun, 2017


जेठ १९, सुरुङ्गा । बन्दमुक्त क्षेत्रको रुपमा परिचय बनाएको झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् । 

नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म मेयर पदका उम्मेदवार तोक्न सकेको छैन । मध्य झापामा पर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्न मैदानमा उत्रिएका उम्मेदवारले विभिन्न एजेण्डा अघि बढाएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा आज शुक्रबार सुरुङ्गामा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले कनकाई नगरको विकासका लागि राखेका अधिकांस एजेण्डा साझा देखिएका छन् । 

सबै उम्मेदवारले कनकाई नगरलाई नमूना नगर बनाउन आफ्नो उम्मेदवारी गरेको र सहकार्यका साथ अघि बढ्ने बताएका छन् । उनीहरुले निर्वाचनलाई द्वन्द्वरहित बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 कनकाई नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा एकराज उप्रेती, उपमेयरमा कविता बस्नेत, नेकपा एमालेको तर्फबाट मेयरमा राजेन्द्रकुमार पोखरेल र उपमेयरमा मञ्जु प्रसाईं उम्मेदवार बनेका छन् ।

त्यस्तै नेकपा माओवादीका तर्फबाट उपमेयरमा शान्ता अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा केदारप्रसाद गिरी र उपमेयरमा चित्रा श्रेष्ठ उम्मेदवार बनेका छन् । नेकपा मालेले मेयरको उम्मेदवार सो पार्टीका नेता प्रेम दाहाललाई बनाएको छ । त्यस्तै स्वतन्त्रबाट भीमप्रसाद अधिकारी मेयर र धर्मलाल राजवंशीे उपमेयरको उम्मेदवार बनेका छन् भने नेकपा माओवादी क्रान्तिकारी (देशभक्त गणतान्त्रिक मोर्चा) को तर्फबाट कवि हरिभक्त संग्रौला  उपमेयरको उम्मेदवार बनेका छन् । 

सबै उम्मेदवारले कनकाई नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई यथाशीघ्र समाधान गर्ने, सिंगो नगरलाई नै बन्दमुक्त बनाउने, नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् । त्यस्तै सडक कालोपत्रे र स्तरोन्नती, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यवसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने, बसपार्क निर्माण र नगर बस सञ्चालन, फोहोर व्यवस्थापन, कनकाई र बिरीङ नदीमा तटबन्ध, उद्योग व्यवसायको विकास, खेलकुदको विकास जस्ता विकासका एजेण्डा पनि अघि सारेका छन् । उनीहरुले ज्येष्ठ नागरिक, गर्भवती महिलासहित नगरबासीको स्वास्थ्यसेवालाई सहज बनाउने एजेण्डा समेत अघि सारेका छन् । 

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए । 

कनकाई नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको ६ बुँदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् । त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ । 

त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!