डडेल्धुरामा वाम गठबन्धनका उम्मेदवारद्वारा चुनाव जिते तलबभत्ता नलिने घोषण

Posted on: 29 Oct, 2017

कात्तिक १२, डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका माओवादी नेता खजराज भट्टले चुनाव जिते तलब भत्ता नलिने घोषणा गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत तलब भत्ता नलिने घोषणा गर्दै उक्त रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका हुन् ।

‘डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित भए राज्यबाट कुनै पनि प्रकारको तलबभत्ता नलिने घोषणा गर्दछु । मैले पाउने सबै रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्दछु ।'

माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्ट पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि डडेल्धुराबाटै चुनाव लड्दै आएका छन् । उनी प्रधानमन्त्री देउवासंग दुई पटक पराजित भएका छन् ।

यो उम्मदवारीसंगै उनी तेस्रो पटक प्रधामन्त्री देउवासँग प्रतिस्पर्धा गर्ने भएका हुन्। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा देउवाले २० हजार ५ सय २९ मत प्राप्त गरेका थिए भने भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए ।

भट्ट देउवासंग १३६८ मतले पराजित भएका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा देउवा २३ हजार ९२० मत ल्याएर विजयी भएका थिए । देउवाका निकटतम प्रतिद्वन्द्वी भट्टले १२ हजार ४९३ मत पाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!