बिप्लबका कार्यकर्ता तुरुन्त रिहाई गर: सिंचाइ राज्यमन्त्री पुन

Posted on: 10 Nov, 2017

कविता उपाध्याय/कात्तिक २४, रोल्पा । सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पामा प्रहरी प्रशासनद्वारा बुधबार पक्राउ परेका बिप्लबका कार्यकर्ताको रिहाइका लागि आह्वान गर्नभएको छ । 

काम विशेषले लिबाङ बजार आएका बेला पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति र सुवर्णाबती गाउँपालिकाको मिझिङबाट पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी लगायत सोही पार्टीका अन्य दुइजना कार्यकर्ताको यथासिघ्र रिहाईका लागि पुनले आह्वान गर्नुभएको हो । 

“शान्तिपूर्ण रुपमा समाजमा राजनीति गर्ने र घुमफिर गर्ने अधिकार सबैलाई हुन्छ । तर यसरी पुलिस प्रशासन लगाएर धर पकडमा पार्ने अधिकार कसैलाई हुँदैन । यसमा मेरो घोर आपत्ती छ, बिरोध छ । त्यसैले यथासीघ्र रिहाइकालागि प्रहरी प्रशासनलाई मेरो निर्देशन पनि छ । ”उहाँले भन्नुभयो । 


राज्यमन्त्री पुनका अनुसार कसैले समाजमा विद्धंस गर्छ, हिंसात्मक गतिविधिमा संलग्न रहन्छ वा दुब्र्यबहार गर्छभने त्यस्ता ब्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरी प्रशासन वा अन्य क्षेत्रमा आफ्नोपनि सकारात्मक साथ र सहायोग रहनेछ । 

तर शान्तिपूर्ण रुपमा राजनीति गर्ने ब्यक्तिलाई पक्राउ गर्नु मानव अधिकार विरोधी कार्य भएको हुँदा उहाँले यसरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ पर्नु निन्दनीय भएको र यसप्रति आफ्नो घोर आपत्ती रहेको बताउनु भयो । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले प्रहरी प्रशासनको कुनै आग्रह वा प्रर्वाग्रह नभएको बताउनु भयो । डा. भट्टराईका अनुसार पक्राउ परेका ब्यक्तिहरु निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेको हुँदा गृहमन्त्रालयको आदेश बमोजिम नियन्त्रणमा लिनु परेको उहाँको धारणा छ । 

यस्तै प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले पक्राउ परेका ब्यक्तिहरु शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिमा संलग्न भएको हुँदा आफूहरु पक्राउ गर्न बाध्य भएको बताउनु भयो । उहाले भन्नुभयो “हामीले उहाँहरुलाई कुनै पार्टीका कार्यकर्ता भएको हिसावले पक्राउ गरेका होइनौं ।  

स्वतन्त्र तथा भयरहित वातावरणमा मतदान गर्न चाहने मतदाताहरुमा डर त्रास देखाउदै निर्वाचन बिरोधी कार्यहरु गरेको हुँदा उहाँहरुलाई पक्राउ गरी यस विषयमा अनुसन्धान प्रारम्भ भइरहेको छ । अनुसन्धान पश्चात कानून बमोजिम कारबाही हुन्छ ” उहाँले भन्नुभयो ।  

प्रनाउ फुयालले आफूहरु कुनैपार्टी वा ब्यक्ति कसैसंग पनि पूर्वाग्रही नभएको दावी समेत गर्नुभयो । चुनाव विरोधी गतिविधि गर्ने वा जनतालाई डरत्रास देखाइ प्रलोभनमा पार्ने जो कोही ब्यक्तिलाई पनि आफूहरु पक्राउ गर्न बाध्य हुने समेत उहाँले बताउनु भएको छ । 

यता पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवम् अधिकारकर्मी महेश न्यौपानेले नागरिकको स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । भोट हाल्नु वा चुनाव बहिष्कार गर्नु कुनैपनि नागरिकको अधिकार भएको हुँदा विना प्रमाण यसरी नागरिकलाई थुनामा राख्नु गैर जिम्मेवारीपूर्ण काम भएको उहाँले बताउनु भयो । 

अर्कोतर्फ नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु आक्रोसित भएका छन् । स्थानीय निर्वाचनमा पनि प्रहरी प्रशासनले आफूहरुलाई दुःख दिएको र अहिलेपनि दुःख दिन खोजिरहेको उनीहरुको आरोप छ । समाजमा शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई यथासीघ्र रिहाइका लागि उनीहरुको जोडदार माग रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!