सडक नाटकबाट मतदाता शिक्षा दिईँदै

Posted on: 18 Nov, 2017

ताराबहादुर महत । मंसिर २, दोलखा । मतदाता शिक्षा सम्बन्धि चेतनामुलक सडक नाटक ‘महादान’ आज दोलखा सदरमुकाम चरिकोटमा प्रदर्शन गरिएको छ ।


मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बढी भन्दा बढी नागरिकलाई मतदानमा सहभागि गराउन र मत बदर हुने संख्या कम गराउन सडक नाटक प्रदर्शन गरिएको दोलखाका जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतिले जानकारी दिनुभयो । सर्वसाधारणले पनि सहजै बुझ्ने माध्यम भएकोले मतदाता शिक्षा कार्यक्रम अन्र्तगत निर्वाचन आयोगले सडक नाटकलाई पनि अबलम्बन गरेको उहाँको भनाई छ ।

नाटक दोलखाको २ नगरपालिकाको २÷२ स्थान र ७ गाउँपालिकाको १÷१ स्थानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । आजबाट शुरु भएको सडक नाटक मंसिर ६ गतेसम्म जिल्लाको विभिन्न स्थानमा प्रदर्शन हुनेछ । सडक नाटक साँस्कृतिक संस्थानसँगको सहकार्यमा निर्वाचन आयोगले प्रदर्शन गरेको हो । लोकेन्द्र लेखकको लेखन तथा निर्देशन रहेको नाटकमा आकाश थापा, संगित लिम्बु, जंग पहाडी, आकाश गोर्खाली, प्रलाप राई, दिपिका थापा, सोमिया सामत लगायतका कलाकारहरुले भुमिका अभिनय गरीरहनुभएको छ ।

नाटक आजै कालिञ्चोक गाउँपालिकाको सुनखानी र विगु गाउँपालिकाको सिंगटी बजारमा प्रदर्शन हुने साँस्कृतिक संस्थानका प्रतिनिधि जंग पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि गौरीशंकर गाउँपालिकाको गुरुम्फी र भिमेश्वर नगरपालिकाको तामाकोशी बजारमा प्रदर्शन हुनेछ । ४ गते जिरीको लिंकन बजार, हाटडाँडा र बैत्यश्वर गाउँपालिकाको मैनापोखरी  तथा ५ गते मेलुङ र तामाकोशी गाउँपालिकामा नाटक प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी ६ गते शैलुङ्ग गाउँपालिकाको बाघखोर बजारमा नाटक प्रदर्शन गरिने आयोजकको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!