कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग छः थानी

Posted on: 01 Aug, 2018

साउन १५, सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सरकार अधिनायकबादी बनेको भन्दै बेलैमा नसच्चिए सधैका लागि कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग भएको दावी गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा सरकारविरुद्धको प्रदर्शन पछिको सभामा बोल्दै नेता थानीले सरकार नसच्चिए काँग्रेस टक्कर दिन तयार रहेको चेतावनी दिए ।

‘कांग्रेसले १ सय ४ बर्षे राणा शासन, ३० बर्षे निरंकुश पञ्चायत र राजा ज्ञानेन्द्रको शासन पनि ढालेको चर्चा गर्दै कुनै पनि निरंकुशता र अधिनायकबादी शैली काँग्रेसका लागि मान्य नहुने बताए । ‘काँग्रेससंग टक्कर लिएका धेरै शक्तिहरुको अवस्था कम्प्युनिष्ट नेताहरुलाई थाह छ’ उनले भने, ‘ओली सरकारले पनि काँग्रेससंग निहुँ खोजे सडकबाटै ढालेर छाड्छौं ।’ काँग्रेस माइतीघर मण्डलामा सिमित भएको ओलीको भनाईप्रति नेता थानीले कांग्रेसको चिन्ता नगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कम्युनिष्ट सरकारलाई आतंकबादी शासकको संज्ञा दिए । उनले टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिने अवस्था आउन सक्ने भन्दै सबैलाई साथ दिन पनि आग्रह गरे । विरोध सभामा पूर्व सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्ट, तरूण दल, नेविसंघ र महिला संघ लगायतका भातृ संगठनको व्यापक सहभागिता रहेको थियो ।

सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै काँग्रेसले मंगलबार देशका ७७ जिल्लाका सदरमुकामहरुमा विरोध प्रदर्शन गरेको छ । लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका मुख्य एजेण्डामा विरोधमा प्रदर्शन गरिएको हो । वीरेन्द्रनगरको मंगलगढीचौकबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!