हत्यारा अहिल्यै पत्ता लाग्छ, एसपी विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्: पूर्वमन्त्रि

Posted on: 06 Oct, 2018

असोज २०, काठमाडौं । नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्या पत्ता लगाइदिने बताएकी छिन ।

आज राजधानीमा आयोजित ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तरगत भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री धमलाले सो कुरा बताएकी हुन् | उनले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप समेत लगाइन् । पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै उनले भनिन्, ‘सकेन भन्छ सरकार । लाज लाग्दैन कुर्सीमा बस्न ?’


पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्ति आसेपासे पुँजीवादमा रमाएकाहरुको निकृष्ट अभिव्यक्ति भएको उनले बताइन् ।

उनले महिला सांसदहरुको राजीनामा मागिन् । ३३ प्रतिशत खाने तर, आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै उनले भनिन्, ‘कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् ।’

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले निर्मला पन्तको हत्यारा पत्ता लगाउने जिम्मा आफूलाई दिन सरकारलाई चुनौती समते दिएकी छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, ‘एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्, अहिले पत्ता लाग्छ हत्यारा ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!