नेविसंघबाट कुन्दन आउट ! ६ जना पदाधिकारी मात्र सुरक्षित

Posted on: 08 Oct, 2018

असोज २२, काठमाडौँ | नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएपछि पाका विद्यार्थी नेताहरु आउट भएका छन् । यसैको मेसोमा नेविसंघको नेतृत्वको प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले पनि आउट भएका छन् । नेविसंघको वर्तमान अध्यक्ष महर समेत ४० कटिसकेका छन् ।

नेविसंघको नेतृत्वको प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले अहिलेका महामन्त्री हुन् । उनी कृष्ण सिटौलासँग निकट भएकाले नेविसंघ नेतृत्वको चुनावमा उनले जित्ने निश्चित जस्तै थियो । तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट स्वत: बाहिरिएका छन् । त्यसैले पनि ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गरेको छ । 

यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सहमहामन्त्री प्रकाशशरण महत निकट रहेका उनलाई ३२ वर्ष उमेर हदले रोक्दैन । ३२ वर्ष उमेर हदको कारण अबको नेतृत्व प्रेमराज जोशीले सम्हाल्ने सम्भावना छ ।

नेविसंघको पदाधिकारीमा उपाध्यक्षहरु पवन यादव र सागर परियार, सहमहामन्त्रीहरु प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने तथा कोषाध्यक्ष शिव रिमाल गरि ६ जनालाई मात्र ३२ वर्ष उमेर हदले समस्या पार्दैन । 

आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको थियो । तर, यो निर्णयमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलगायत ७ नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!