पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति दुःख व्यक्त

Posted on: 18 Dec, 2018

पुष ३, काठमाडौँ (रासस) | पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले दुःख व्यक्त गरेको छ । 

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले शोक विज्ञप्तिमार्फत मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । 

राप्रपाका अध्यक्ष कमल थापाले गिरीको निधनको समाचारले आफू स्तब्ध र मर्माहत भएको बताउनुभयो । “निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्यत समकालीन नेपाली राजनीतिमा डा गिरीको दार्शनिक मूल्य मान्यता अनुकरणीय छ”, विज्ञप्ति उल्लेख छ । 

एकिकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो । 

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएकामा दुःख व्यक्त गर्नुभयो । गिरीको आज बिहान ९३ वर्षको उमेरमा निधन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!