प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

Posted on: 16 Jan, 2019

माघ २, ललितपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । 

२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गर्नुभएको हो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो । पुनःनिर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उहाँको जोड छ । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “पुनःनिर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।” 

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनःनिर्माणको अवस्थाका बारेमा नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिनुभयो । गृहमन्त्री अध्यक्ष हुने ‘२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’ को व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन रहनुभएको छ । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!