विप्लव नेकपामाथि प्रतिबन्ध लगाए लगत्तै माओवादी केन्द्रद्वारा प्रारम्भिक प्रतिक्रिया

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौँ | विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा लगत्तै माओवादी केन्द्रले प्रारम्भिक प्रतिक्रिया दिएको छ । एक बिज्ञप्ति निकाल्दै माओवादी केन्द्रले विप्लव नेकपाप्रति सरकारले लगाइएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेको हो । 

साथै माओवादी केन्द्रले बिज्ञप्ति मार्फत विप्लव नेकपालाई वार्ता र शान्तिपूर्ण राजनीतिमा आउन समेत आग्रह गरेको छ । माओवादी केन्द्रले सरकार र विप्लव नेकपालाई गम्भीर प्रश्न गर्दै भनेको छ 'अन्यथा गणतन्त्र लगायतका उपलब्धि खोसिने जोखिमको जिम्मेवार को हुने ?'

यसैबीच माओवादी केन्द्रको तीन दिनदेखि बुटवलमा जारी बैठक आजै सम्पन्न भएको छ । बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सरकार तथा विप्लव नेकपा दुवै पक्षप्रति लक्षित गर्दै बिज्ञप्ति जारी गरेका हुन् । 


सरकारले मंगलबार नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै उसमाथि प्रतिबन्ध लगाएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो । विप्लव नेकपालाई वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!