'सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता' - सभामुख

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उहाँले गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातिक/समावेशी शासन व्यवस्थालगायत प्राप्त उपलब्धि संस्थागत हुन सकेमात्रै साँचो अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । 

गणतन्त्र नेपाल प्राप्तिको महाभियानमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभामुख महराले सङ्घर्षका दौरानमा बेपत्ता, घाइते एवं अपाङ्गता हुनुभएका सबै योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । नेपाली जनताबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

एघार वर्षअघि आजकै दिनअर्थात् २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । देशको शासन व्यवस्था नै परिवर्तन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको आजको दिनलाई राज्यले नेपाली राजनीतिको ऐतिहासिक महत्वका साथ गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!